नेपालगन्ज : बाँकेकाे राप्तीपारी रहेकाे सन्तानेश्वर मन्दिर यतिवेला दशर्नका लागि नेपाली मात्रै नभई भारतीय नागरिककाे समेत राेजाईमा पर्न थालेकाे छ ।
मन्दिरको दर्शन गर्न भारतको विभिन्न ठाउँका भक्तजन पनि यहाँ आउने गरेका छन्। दाङ, सुर्खेत, बर्दिया, नेपालगन्ज, कोहलपुरलगायत ठाउँका सर्वसाधारण दर्शनका लागि पुग्ने गरेका छन्।
बैजनाथ गाउँपालिकाकी लालुमाया पाैडेल एकान्त र शान्त स्थान भएकोले मन्दिर दर्शनसँगै पहाड घुमघामका लागि पनि सन्तानेश्वर उपयुक्त ठाउँ रहेकाे बताउँछिन् ।
उनका अनुसार बैजनाथ पालिकाबाट मात्रै शनिवार दुई दर्जबढी भक्तजन मन्दिर दर्शन र शनिवारीय घुमघामका लागि सन्तानेश्वर पुगेका थिए ।
मन्दिर बनेको लामो समय भए पनि ०७० सालमा यहाँ व्यवस्थित ढंगले मन्दिर बनाइएको थियो । सन्तानेश्वरमा शिवरात्रि, तिजजस्ता पर्वमा विशेष भिड लाग्ने गर्छ। साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गरेकाे स्थानीय बताउँछन् ।
यस मन्दिरको दर्शन गरी सच्चा मनले पूजापाठ र व्रत गरे सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ।
बाँके जिल्लाकाे राप्ती नदी पारीकाे त्याे क्षेत्र परापूर्व समयदेखि नै धार्मिक स्थलकाे रुपमा परिचित छ । राप्तीसाेनारी र नरैनापुर गाउँपालिकाले ओगटेकाे यस क्षेत्रमा ठुला-साना गरेर दर्जनाैं मन्दिरहरु रहेका छन् ।
चर्चित सन्तानेश्वर महादेव, गाेवर्द्धन पर्वत, बर्फानी वावा र भुँवरभवानी एकअर्काे ठाउँबाट देखिने गरी पहाडकाे डाँडा डाँडामा रहेका छन् ।






