नेपालगन्ज : बाँकेस्थित राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख ओम खड्का नेतृत्वको जासुसी टोलीबाट बाँकेका स्थानीयदेखि प्रहरीसम्म हैरान छन् । सूचना ल्याउन खटिनुपर्ने सूचकलाई उनले पैसा उठाउनमा परिचालन गरेका छन् ।
खड्काका विश्वासिलो पात्र हवल्दार गोविन्दजंग शाहले सुलीका लागि टोली नै बनाएका छन् । उनका पनि परिचालक बुद्धिप्रसाद शर्मा र उदय अधिकारीले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप छ ।
चोरी, तस्करीसम्बन्धी सूचना आउनेबित्तिकै बाैकेमा कार्यालय प्रमुखले गोविन्द भनिने एक जासुसलाई जानकारी गराउँछन् । गोविन्दले ‘अपराध’ हेरेर सूचक खटाउँछन् । कुनै तस्करीमा अर्जुन खड्का त कुनैमा तिलक खत्रीलाई परिचालन गरिन्छ ।
गोविन्दले दुई वर्षअगाडि तस्करहरूले ल्याएको दुई किलो सुन नेपालगञ्जस्थित बसपार्कको एउटा होटलबाट लुटेका थिए । उनले कोहलपुर – ११ स्थित सिद्धार्थ ज्वेलर्सका सञ्चालक देवेन्द्र सुनारसँग मिलेर काम गर्छन् ।
प्रहरी जवानको शारीरिक परीक्षणमा छनौट गराइदिने प्रलोभन देखाएर युवाहरूबाट रकम बटुल्छन् । अख्तियारको नेपालगञ्ज कार्यालयमा परेको उजुरी पनि मिलाइदिने भन्दै लाभ लिने गरेको बताइन्छ ।
हवल्दार पदमा रहेका गोविन्दले आफूलाई असई भनेर चिनाउँदै आएका छन् । जाजरकोटको खलंगा घर भएका गोविन्दले काजमा खटिएको चार वर्षमा करोडौंको सम्पत्ति जोडेका छन् ।
ऐलानी जग्गामा बसोबास गर्दै आएका उनको घर २०७२ सालको भूकम्पले भत्किएपछि नेपालगञ्जमै भव्य घर बनाई र महङ्गो गाडी किनेका हुन् । श्रोत : जनआस्था साप्ताहिकबाट…






