नेपालगन्ज : बालेन शाहकाे नेतृत्वमा बनेकाे सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण कार्यलाई निरन्तरता दिएको छ ।
जस अन्तर्गत बाँकेकाे नरैनापुर गाउँपालिकाकाे वडा नम्बर २ र ३ का १ सय ७९ घरधुरीले बिहीबार गाउँघर ब्लक जग्गाधनि प्रमाण पुर्जा पाउने भएका छन ।
सरकारकाे निर्देशनमा नापी कार्यालय बाँके र नरैनापुर गाउँपालिकाकाे सक्रियतामा उक्त जग्गाधनी पुर्जा वितरण गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली बताउँछन् ।
सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि पुर्जा वितरण गरेको हाे । सरकारले भूमिहीन सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई आवश्यक कानुनी प्रबन्ध गरी भूमिसम्बन्धी समस्या समाधान गर्न गठन गरेको राष्ट्रिय भूमि आयोगमार्फत सङ्कलन गरेको निवेदन मध्येबाट छानबिन गरी उनीहरुलाई पुर्जा वितरण गरेको हो ।
आयोगले सबै स्थानीय तहलाई निवेदन पठाउन पत्राचारका साथै सूचना प्रकाशन गरेको थियो । जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि बनाइएको थियो ।
यसै कार्यबिधी अनुसार नरैनापुरमा पनि जग्गाधनी पुर्जा वितरण गर्न लागिएको छ । यसअघि बर्दिया, चितवन लगायतका केही जिल्लाका पालिका तहमा सरकमरले केही नागरिकलाई पुर्जा वितरण गरिसकेकाे छ ।
संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३७ (१) मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र (२) कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट नहटाइने उल्लेख छ ।






