नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन पक्षले अस्पताल घाटामा भएको कारण देखाउँदै तत्काल कर्मचारीकाे तलव बृद्विकाे माग पूरा गर्न नसक्ने स्पष्ट पारेकाे छ ।
कलेजका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्माले संस्था घाटामा चहिरहेकाले अहिले नै कर्मचारीको तलब वृद्धि गर्ने माग पूरा गर्न नसकिने भन्देै स्पष्ट पारेका छन् । नेपालगन्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करार गरेर करिब ११ सय कर्मचारी कार्यरत छन् ।
तलब वृद्धिको माग गर्दै कर्मचारी र स्वास्थकर्मीले आन्दोलन गरेपछि बाँकेसहित कर्णाली र सुदुर प्रदेशका २४ जिल्लाबाट उपचारका लागि आएका र अस्पतालमा भर्ना भैसकेका विरामीले समयमै प्रभावकारी उपचार पाउन नसकेको देखिएको छ ।
आन्दोलनकारी कर्मचारीले ओपिडी सेवा पूर्णरुपमा बन्द गर्दा सबैभन्दा बढी विरामी र सर्व साधारण नागरिकलाई सास्ती भएकाे छ ।
आफ्ना मागको अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै आन्दोलनरत कर्मचारी आक्रोशित भएका छन् । तर, अस्पताल प्रशासन र व्यवस्थापन उनीहरूका माग कुनै हालतमा पूरा हुन नसक्ने बताउँछ ।
निजि संस्था हाे सरकारी तलव र सुविधा खाेजेर हुँदैन कलेजका एक अधिकारीले भने “संस्थाकाे नियम र क्षमता अनुसार सेवा विस्तार गर्ने हाे सरकारी तलब चाहिए यहाँ छाेडेर सरकारीमा काम गर्दा हुन्छ ।”
निजि कम्पनीमा जागिर खान आउने अनि सरकारी सुविधा खाेजेर कहाँ हुन्छ अर्का जिम्मेवार अधिकृतका अनुसार आन्दोलन त कर्मचारीकाे नियति बनिसक्याे अब कलेज घाटामा छ जसले जति आन्दोलन गरेपनि अस्पतालले तत्काल यस्ता माग पुरा गर्न चासाे देखाउँदैन ।
पुस ३ र ४ गते दिउँसो १ बजेदेखि आधा दिन ओपीडी र शैक्षिक कार्यक्रमहरू आंशिक बन्द गरिएकोमा पछिल्लो समय ओपिडी र शैक्षिक कार्यक्रम पूर्णरूपमा बन्द गरिएको भनिएको छ ।
आन्दोलन परिचालन कमिटीकी संयोजक एवम् कर्मचारी संगठन सभापति रत्नाकुमारी गिरीका अनुसार प्रशासनिक कार्यालयहरुमा पनि तालाबन्दी गरिएको छ ।
आन्दोलनकाे निहुँमा पिरामीलाई उपचारबाट बन्चित गराई दु: ख दिन नहुने नागरिक समाजका अगुवा मीन मल्ल बताउँछन् । कलेजमा आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाहमा सातादेखि देखि असर परेको छ ।






