भुम भण्डारी : शिक्षा क्षेत्रको महत्त्वपूर्ण आधारस्तम्भ बिएलइ (बेसिक लेभल परीक्षा) को गतवर्षको नतिजालाई लिएर छानबिन समितिले प्रतिबेदन बुझाएको र सार्वजनिक गरिएको प्रतिबेदन कार्यान्वयनमा देखिएको अवरोधले जनप्रतिनिधिको सस्तो लोकप्रिय शैक्षिक हवको नारा भ्रमको खेती देखिए तापनि यसको कार्यान्वयन अझै हुन सकेको छैन । यस्तै कोहलपुर नगरपालिका क्षेत्रको ऐतिहासिक नमुना बिद्यालय त्रिभुवन माध्यमिक बिद्यालयमा शिक्षक र बिध्यार्थी बिचको दोहरो म्यासेन्जर कुराकानीबाट उत्पन्न विभिन्न घटनाक्रममा बिध्यार्थी आन्दोलनको क्रममा तोडफोडको क्षति र आन्दोलनका घटनाहरूको छानबिन प्रतिबेदन समेत सार्वजनिक गरिएको छैन । कोहलपुर नगरपालिका नगर शिक्षाको शैक्षिक हवको महत्वाकांक्षी नारालाई यी दुई मुद्दाहरूले यश क्षेत्रको शिक्षामा पारदर्शिता, जवाफदेहिता र विश्वासको गम्भीर प्रश्न खडा गरेका छन ।
बिएलइ परिक्षा र छानबिनको उपेक्षा
विशेषत: बिएलइ परीक्षा शिक्षाको आधारभूत तहको अन्तिम परीक्षा हो, जसले विद्यार्थीको ज्ञानस्तरको मूल्यांकन गर्ने उद्देश्य राख्छ । गतवर्षको नतिजामा देखिएका त्रुटी पछिका विवादहरूका कारण छानबिन समिति गठन गरिएको थियो । तर, प्रतिवेदनको कार्यान्वयन नभएपछि यसले शिक्षा क्षेत्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । यसले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा विश्वासको संकट सिर्जना समेत गरेको छ ।
शिक्षामा हुने यस्ता त्रुटिहरूलाई गम्भीरतापूर्वक लिई छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सकिएको भए अहिलेको अवस्था फरक हुन सक्थ्यो । तर, जिम्मेवारी लिने निकायहरूको असंवेदनशीलताले गर्दा विद्यार्थीहरूमा नकारात्मक प्रभाव परेको छ ।
त्रिभुवन माध्यमिक विद्यालयको आन्दोलन र छानबिनको लुकावट
त्रिभुवन माध्यमिक विद्यालयमा शिक्षक बिध्यार्थी म्यासेन्जर सम्वाद सार्वजनिक सङ्गै तरङ्गित भएको शैक्षिक माहोल आन्दोलनमा परिणत भयो आन्दोलनले शैक्षिक भौतिक रुपमा केही क्षति पनि निम्त्याएको छानबिन समितिको प्रतिबेदनमा उल्लेख गरिएको छ । आन्दोलन र उत्पन्न परिस्थितिको छानबिन गर्न भनेर बनेको छानबिन समितिले निर्धारित समय भन्दा झन्डै महिना दिन ढिला प्रतिबेदन बुझाएको थियो । छानबिन समितिले प्रतिबेदन बुझाएको यति लामो समय बितिसकेको छ तर प्रतिबेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो आन्दोलनले शैक्षिक वातावरणलाई मात्र नभई विद्यार्थीहरूको भविष्यलाई पनि अन्योलमा पारेको थियो । आन्दोलनको छानबिन प्रतिवेदन तयार रहेको प्रमाणित समेत भैसकेको भनिए तापनि सार्वजनिक नगरिनुले यसको निष्पक्षता र विश्वसनीयतामा गम्भीर शंका उत्पन्न भएको छ ।
छानबिन प्रतिवेदन सार्वजनिक नगर्नुको पछाडि लुकेको कारण के हो भन्ने प्रश्नहरू उठिरहेका छन । यसले प्रशासनप्रति विद्यार्थीहरूको विश्वास घटाएको छ भने आन्दोलनरत विद्यार्थी सरोकारवाला पक्षहरुलाई समेत शंकाको घेरामा ल्याएको छ । यस विषयमा इमान्दार छानबिन र निष्पक्ष न्यायको बिश्वसनियताको लागि प्रतिबेदन सार्वजनिक गर्न आवश्यक छ ।
कोहलपुर नगरपालिका र दोषमुक्तिको देखावटी प्रयास
कोहलपुर नगरपालिकाको परिक्षा नतिजाको त्रुटि, एकै सिफ्टमा कक्षा संचालन देखि त्रि.मा.बि. बिध्यार्थी आन्दोलन र आन्दोलन पछिको भूमिकालाई लिएर पनि धेरै आलोचना र आशन्का रहेका छन । नगरपालिकाले छानबिन समितिले औल्याएका त्रुटि कमजोरी र सिफारिस भएको कारबाहीको सिफारिसलाई लुकाउन खोजेको देखिन्छ । छानबिन समितिले बिद्यालय प्रशासन, ब्यवस्थापन समिति, शिक्षक र आन्दोलनरत बिध्यार्थी नेतृत्वको थुप्रै गम्भीर गल्ती र त्रुटि औल्याउँदै कारबाहीकोलागि समेत किटानी गरेको अवस्थामा नगरपालिकाले प्रतिबेदन लुकाएर संलग्न पक्षहरुलाई दोषमुक्त बनाउन खोजेको देखिन्छ ।
एकातिर छानबिन समितिको प्रतिबेदन लुकाएको छ अर्कोतिर एसइई परिक्षा केन्द्र सम्बन्धि कोहलपुर नगर प्रमुख र तत्कालीन प्रमुख जिल्ला अधिकारी बीच भ्रष्टाचार अनियमितता र सौदावाजीको गम्भीर आरोपप्रत्यारोपको शृङ्खला चल्छ । यसले शैक्षिक क्षेत्रमा अन्यौलता निरासा र बिकृतीको पुष्टि हुँदा पनि टिकाटिप्पणी भएको देखिदैन । तर एक्कासि गठित छानबिन समिति, बिद्यालय ब्यवस्थापन समिति र नगर कार्यपालिकामा समेत उपस्थित रहेको राजनीतिक दलको मर्यादित एवं पारदर्शिताको माग राख्दै प्रेस बिज्ञप्ति एकाएक संचारमाध्यममा आएको छ । प्रकाशित प्रशारित प्रेस बिज्ञप्तिमा कहिँ कतै त्रिभुवन माध्यमिक बिद्यालयको घटना , आन्दोलन , परिक्षा केन्द्रको बिबादास्पद कुरा उल्लेख गरिएको छैन उदाहरणको रुपमा आधारभुत तहको परिक्षा नतिजा त्रुटि र विवाद उल्लेख गरिएको देखिन्छ । यसले छानबिन समितिले औल्याएका कमजोरी त्रुटि र कारबाहीको जिम्मेवारीबाट पन्छिन खोजेको नगरपालिकालाई समर्थन र दोषीलाई उन्मुक्ति दिन खोजेको हो आशन्का उब्जिएको छ ।
कोहलपुर नगरपालिका कार्यालयका यस्ता विवादास्पद कार्यहरूले समग्र शिक्षा क्षेत्रमा रहेको कमजोरी हटाउने भन्दा प्रोत्साहन गर्ने देखिन्छ । आन्दोलनरत विद्यार्थीहरू न्याय खोजिरहेका थिए नत पीडितले न्याय पायो नत घटनाको फाइदा लिन खोज्ने तत्वको पहिचान सार्वजनिक गरि कारबाही भयो यसले दोहोरो रणनीति मिलेमतो चलखेल शंका आशन्का सबै पुष्टि भयो ।
आशा र विश्वासको पुनःनिर्माण
आधारभूत र माध्यमिक तहका परीक्षा सुरू भएको यो समयमा विद्यार्थीहरूमा उत्साह र डरको मिश्रित भावना छ । विगतका विवादहरूलाई लिएर अहिलेको परीक्षा प्रणालीमा पनि प्रश्न उठ्ने सम्भावना स्वभाविक छ । यो बेला प्रशासनले पारदर्शिता, जवाफदेहिता र निष्पक्षता देखाउन आवश्यक छ ।
शिक्षा प्रणालीको सुधार र विश्वासको पुनःनिर्माणका लागि छानबिन प्रतिवेदनहरूको निष्पक्ष कार्यान्वयन, दोषीलाई कारबाही र निर्दोषलाई न्याय दिनुपर्ने आवश्यक छ । शिक्षा क्षेत्रमा विश्वसनीयता र विश्वासको वातावरण निर्माण गर्न प्रशासनले देखावटी होइन, यथार्थपरक प्रयास गर्नुपर्छ ।
हामीले आशा गर्नुपर्छ कि विगतका त्रुटिहरूलाई सुधार गरेर आगामी परीक्षा प्रणाली निष्पक्ष, पारदर्शी र विद्यार्थीमैत्री हुनेछ । विद्यार्थीहरूको भविष्य सुरक्षित बनाउने जिम्मेवारी राज्य र प्रशासनले बिर्सनु हुँदैन । अबको शिक्षा प्रणालीले भरोसा गर्न योग्य बन्नुपर्छ, किनभने यसमा राष्ट्रको भविष्य अडिएको छ ।






