ट्रेण्डिङ

नेपालगन्ज :  प्रतिमा दुई किसिमले बनाइन्छ । एउटा भोलिको कल्पना गरेर, अर्को हिजोको सम्झना गरेर । बाहुबली तुजुकले जब यो कार्य गरिन्छ, तब द्वन्द्व खडा हुन्छ । प्रतिमा निर्माणबारे दुई विपरीत दृष्टिकोणबीच द्वन्द्वको सारभूत कुरो यही हो ।

तर, नेपालमा अहिले सालिकमाे राजनीति बढ्दाे क्रममा छ । बाँकेकाे नेपालगन्जमा याे वा त्याे आन्दोलनका निहुँमा सालिक ताेडफाेड भएका थिए । अहिले ती सालिकमाथि यहाँका दलले राजनीति गर्न थालेकाे देखिएको छ । सालिक पुर्ननिर्माण हुनु राम्रो हाे तर, यसैमा राजनीति गर्न खाेज्नु उपयुक्त हाेइन ।

इतिहासको गल्तीबाट पाठ सिक्ने तर इतिहासलाई नदोहोर्‍याउने प्रण नगरेसम्म यो द्वन्द्वले निरन्तरता पाई नै रहन्छ । कसको प्रतिमा कहाँ स्थापना हुनुपर्ने वा नहुनुपर्ने, वा कसको प्रतिमा ठड्याइनुपर्ने भन्नेमा भिन्नभिन्न मत हुन सक्छन् । कतिपय अवस्थामा आफ्नै सोचाइको पुनर्मूल्यांकन गर्नु पनि जरुरी हुन्छ ।

नेपालकै एउटा भूगोलका मान्यता र मानकहरू चिनाउने प्रतिमा अन्यत्र फिँजाउने कि नफिँजाउने ? हाम्रै भानुभक्त वा लोकतान्त्रिक नेता बीपीका सालिक भारतमा छन् । मार्क्स र माओका प्रतिमाहरू नेपालमै छन् । महात्मा गान्धी, नेल्सन मण्डेला वा मार्टिन लुथर किङ जुनियरका प्रतिमा ठड्याउनु राष्ट्रघात हुन्छ र ? तिरस्कारको जवाफ तिरस्कार मुनासिब मानिएला ? सबैलाई स्वीकार हुने बाटो रोज्ने कि ?

भोलिको सम्झना गरेर प्रतिमा ठड्याउनेहरू कैयौं प्रवृत्तिका छन् । एउटा हुन्छ शासकीय विजेताको मानसिकता, जहाँ उसले शासनको वैधता खोज्न, प्रभाव विस्तार गर्न, आफ्ना मान्यताहरूलाई आरोपण गर्न, विजययात्राको कीर्तिपताका फरफराउन आफैंले रोजेका प्रतिमाहरू स्थापित गर्छ ।

कतिपय अवस्थामा शासकले विगतका पात्रहरू छनोट गर्दा कोही मिथ पनि हुन्छ वा कुनै पात्रको व्यक्तित्वमा आफ्नो निहितार्थ आरोपण गर्छ । यसरी आरोपण गर्दा ऐतिहासिक पात्रविशेषप्रति अन्याय पनि हुन जान्छ किनभने शासकले तिनलाई फगत औजारका रूपमा प्रयोग गर्न चाहेको हुन्छ ।

सत्ताधारी वर्चस्वशाली संस्कृतिको थोपराइका दृष्टान्तहरू हामीमाझ कति छन् कति ! रैथाने संस्कृतिलाई दबाइएको वा त्यो समुदायमा हीनभावना टुसाउने दुर्यत्न गरिएको छ ।

यस्तोमा आगतको पदचापलाई आफ्नो अनुकूल बनाउन चाहने किनारीकृत समूहहरूले समेत यस्ता प्रतीक–पात्रहरू अतीतको पोकोबाट झिक्छन्, आफ्नो पुनर्जागरणमा टेवा मिलोस् भनेर । यस्तोमा कहिलेकाहीँ प्रतीक–पात्रहरूलाई आफूअनुकूलको भाष्य दिने गरिन्छ ।

हिजोसम्म ‘म्युट’ गरिएका समुदाय जब ‘अनम्युट’ हुन थाल्छन्, तिनले हिजोको सम्झना गरेर आरोपण गरिएका प्रतिमाहरूको भञ्जन गर्छन् र त्यसलाई श्रेष्ठ मान्ने मानसलाई डिलिट गर्छन् ।

प्रत्येक आन्दोलनले केही नवीन मान्यता र मानकहरू स्थापित गर्छ, जुन स्वाभाविक पनि हो । आन्दोलनले केही भ्रमको पर्दा च्यात्छ, कृत्रिम मानकहरूलाई खण्डित गर्छ ।

तर जब आन्दोलनजन्य उत्तेजना रहँदैन, जति बेला सामूहिक विवेकले नीर–क्षीरको पहिचान गर्न सक्छ, त्यतिखेर यी मानकहरूको खोजी, स्थापना र पूजनको कार्यभारबारे गम्भीर विमर्शको खाँचो पर्ने देखिएकाे छ  ।

नेपालगन्जमा विपि, पुष्पलाल, गणेशमान, सेतुविक लगायतका व्यक्तिका सालिक ताेडिएपछि अहिले यअंनकाे पुर्ननिर्माण गर्न लाग्नुलाई सकारात्मक रूपमा लिइरहँदा यसमा टेकेर राजनीति गर्न खाेज्नुलाई भने सचेत नागरिकले समर्थन गर्न मिल्दैन ।  यसतर्फ राजनीति दल र सचेत नागरिककाे ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech