ट्रेण्डिङ

नेपालगन्ज :  निर्वाचनपछिको बदलिँदो राजनीतिक परिदृश्यसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट बिदाइ गर्ने अभियानमा अग्रसर देखिएका महासचिव शंकर पोखरेल यतिबेला पार्टीभित्र तीव्र रूपमा एक्लिँदै गएका छन्।

निर्वाचनको नतिजा सार्वजनिक भएलगतै सुरुवाती दिनहरूमा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने मतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अग्रमोर्चामा थिइन्। अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल तथा भण्डारी समूहका अधिकांश नेताहरू ओलीको विकल्प खोज्ने साझा विन्दुमा एक ठाउँ उभिएका थिए।

त्यसमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसमेत थपिएपछि पार्टीभित्र ओलीलाई नेतृत्वबाट हटाउन सम्भव र सहज देखिएको थियो।

तर, आफूविरुद्ध तीव्र रूपमा घेराबन्दी भइरहेको सूचना पाएपछि अध्यक्ष ओलीले चतुर रणनीतिक चलखेल सुरु गर्दै विरोधी मोर्चालाई फुटाउने र तितरबितर पार्ने आक्रामक अभियान चलाए।

ओलीको शक्ति सन्तुलन र रणनीतिक दबाबपछि पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी र उपाध्यक्ष पौडेल ओली हटाउने मामिलामा मौन बस्न थालेका छन्, जसका कारण अहिले ओलीलाई हरहालतमा हटाउनै पर्छ भन्ने अडानमा पोखरेल एक्लै जस्तै देखिएका छन्।

ओलीविरोधी खेमाका शीर्ष नेताहरू पोखरेलसँगै एउटै मोर्चामा लामो समय उभिन नसक्नुका पछाडि उनीप्रतिको गहिरो अविश्वास र विगतको इतिहास मुख्य कारण बनेको छ।

पार्टीभित्र विगतमा ओलीले गरेका अलोकतान्त्रिक गतिविधि, एकलौटी निर्णय र स्वेच्छाचारितामा पोखरेलले नै अन्धसमर्थन जनाएको र उनी पनि ओलीको कार्यशैलीभन्दा भिन्न नरहेको बुझाइ इतर समूहमा छ। यसका साथै आफ्नो व्यक्तिगत राजनीतिक अवसरका निम्ति ओलीको आड लिएर अन्य समकक्षी तथा शीर्ष नेताहरूलाई किनारा लगाएको गम्भीर आरोप पनि पोखरेलमाथि लाग्दै आएको छ।

एमालेका एक स्थायी कमिटी सदस्य भन्छन्, “शंकर पोखरेल पनि कुन अब्बल मान्छे हो र? उहाँ पनि पटक-पटक मन्त्री हुनुभयो, प्रदेशको मुख्यमन्त्री बन्नुभयो। ओलीलाई बजाएर र ओलीको बचाउ गरेरै पार्टीको महासचिव हुनुभयो, त्यो पनि दोहोरिनुभयो। प्रदीप ज्ञवाली महासचिव बन्न खोज्नुभएको थियो, उहाँलाई पनि ओलीकै सहयोग लिएर किनारा लगाउनुभयो। ओलीको साथ लिएर पार्टीका सबै नेताहरूलाई एकपछि अर्को गर्दै पाखा लगाउने उहाँले नेतृत्व गरेर एमाले फेरि नयाँ बन्छ भन्ने के विश्वास?”

सहयात्री नेताहरूको साथ छुट्दै जाँदा एकातिर पोखरेल पार्टीभित्र रक्षात्मक र एक्लो बन्दै गएका छन् भने अर्कातिर आफूविरुद्ध लागेको थाहा पाएपछि अध्यक्ष केपी शर्मा ओली उनीप्रति थप आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्।

आफ्ना सबैभन्दा विश्वासपात्र सारथी नै नेतृत्व फेर्न लागिपरेको निष्कर्षमा पुगेका ओलीले अब पोखरेलको संगठनात्मक पकड कमजोर बनाउने गरी शक्ति अभ्यास थालेका छन्, जसले गर्दा एमालेभित्र पोखरेलको भावी राजनीतिक यात्रा थप संकटपूर्ण र चुनौतीपूर्ण मोडमा पुगेको प्रस्ट संकेत देखिन्छ।

यद्यपि यी सबै कुराले ओली नगलेपछि र नेताले साथ छाेडन थाल्दा शंकर फेरि ओलीकै हनुमानगरि गर्न पुगेका छन । सामाजिक सन्जालमा उनका मान्टेले पाेष्ट गरेका भिडियाे र स्टार्टस यस्ताे झल्किन थालेकाे नेता कार्यकर्ता नै बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय