ट्रेण्डिङ

नेपालगन्ज : भारतसँग खुला सीमा जोडिएको बाँकेकाे  जमुनाह र आसवासका साना तथा छाेटी नाकामा अहिले पनि तस्करीकाे जालाे उस्तै देखिएको छ ।

तर, समय र तरीका मात्रै फरक छ । विगतमा दिउँसै तस्करी हुन्थ्याे त अहिले मध्यरातमा । पहिला क्यारिङ्गबाट हुन्थ्याे त अहिले व्यवसायी र महँगा सवारीसाधनकाे प्रयाेगमा । यसकाे खाेजी कसले,कहिले गर्ने ?

जिल्लामा अवैध तस्करी नियन्त्रणभन्दा बाहिर गएको गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। सीमावर्ती क्षेत्रका विभिन्न नाकाबाट दैनिक रूपमा कपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक्स, कस्मेटिक लगायतका सामान अवैध रूपमा नेपाल भित्रिने क्रम बढ्दै गएको छ।

स्थानीय व्यवसायी, सीमावर्ती बासिन्दा तथा सुरक्षा स्रोतहरूले तस्करीमा संगठित गिरोह सक्रिय रहेको र केही सुरक्षाकर्मीको संरक्षण तथा मिलेमतोमै यस्तो धन्दा सञ्चालन भइरहेको दाबी गरेका छन्।

मुख्य भन्सार नाकाहरूमा निगरानी कडा बनाइए पनि खुला सीमा र भित्री बाटोहरूको प्रयोग गरेर तस्करहरूले अवैध कारोबारलाई निरन्तरता दिएका छन्।

विशेष गरी बाँकेका जमुनाह आसपास, नरैनापुर, हिरमिनिया, राधापुर क्षेत्र लगायतका खुल्ला सिमामा दैनिक मध्यराततिर तस्करी माैलाएकाे स्थानीय बताउँछन् ।

यी क्षेत्र अहिले तस्करीका मुख्य मार्गका रूपमा प्रयोग भइरहेको भनिएको छ। यसमा पलिसका हाकिम र उनका घुमुवापनि जानकार छन तर, वास्ता गर्दैनन् ।

स्थानीय स्रोतका अनुसार भारतबाट कपडा, हार्डवेयर, खाद्यान्न, कस्मेटिक तथा दैनिक उपभोग्य सामग्री ठूलो मात्रामा चोरी पैठारी गरी नेपाल भित्र्याइँदै आएको छ। सीमाक्षेत्रमा सक्रिय तस्कर समूहहरूले सुरक्षाकर्मीहरूसँग ‘लाइन मिलाएर’ काम गर्ने गरेको आरोप व्यवसायीबाटै उठिरहेको छ।

स्रोतहरूका अनुसार सीमाक्षेत्रमा सक्रिय केही व्यक्तिहरूले वर्षौंदेखि तस्करीको नेटवर्क सञ्चालन गर्दै आएका छन्। तस्करी गर्ने समूहले सामानको परिमाण र नाकाअनुसार सुरक्षाकर्मीलाई नियमित रकम बुझाउने गरेको आरोप समेत लगाइएको छ।

विशेषगरी सुरक्षाकर्मी नेतृत्वमाथि अवैध असुलीमा संलग्न रहेको आरोप स्थानीय तहसम्म चर्चाको विषय बनेको छ। सीमाबाट हुने अवैध ओसारपसारमा सक्रिय विभिन्न समूहहरूले सुरक्षाकर्मी र तस्करबीचको समन्वयकै कारण कारोबार सहज रूपमा सञ्चालन भइरहेको दाबी गर्दै आएका छन्।

पछिल्ला महिनाहरूमा यी नाका हुँदै चामल, चिनी, मटर, प्याज, कपडा लगायतका सामग्रीको तस्करी उल्लेख्य रूपमा बढेको सुरक्षा निकायको बरामद तथ्यांकले समेत देखाएको छ।

यसबाहेक हार्डवेयर, मेसिनरी पार्टपुर्जा, इलेक्ट्रिकल सामग्री तथा अन्य उपभोग्य वस्तुहरू पनि विभिन्न भित्री नाकाबाट भित्रिने गरेको तथ्य बाहिर आएको छ ।यस्ता सामान सवारी साधन अर्थात क्यासिनाेका र नेपालबाट भारत चल्ने गाडी मार्फत आयात हुने गरेकाे भनिएको छ ।

जमुनाह क्षेत्र स्रोतहरूका अनुसार यसरी भित्रिने अधिकांश सामान अन्ततः नेपालगन्जका ठुला व्यवसायीका गाेदामसम्म पुग्ने गरेका छन ।सीमाक्षेत्रबाट ल्याइएका सामानहरू यही क्षेत्र हुँदै नेपालगन्ज भित्र तथा बाहिरी बजारसम्म पुग्ने गरेका छन ।

स्थानीय भन्छन्, “सामान्य नागरिकले व्यक्तिगत प्रयोजनका लागि ल्याएको सामानमा कडाइ हुन्छ, तर संगठित तस्करी भने रोकिएको देखिँदैन।  केही व्यापारीले सुरक्षाकर्मी र तस्करबीच साझेदारीको सम्बन्ध रहेको दाबी गर्दै आएका छन् ।

बाँके र लुम्बिनी प्रदेश प्रहरीभित्र कार्यरत केही घुमुवा प्रहरीमाथि पनि विभिन्न आरोपहरू उठिरहेका छन्। प्रहरीकै स्रोतहरूका अनुसार केही प्रहरी कर्मचारी लामो समयदेखि जिल्लामा अनौपचारिक रूपमा परिचालित रहँदै आएका छन्।

आलोचकहरूको दाबी छ कि यस्ता घुमुवा टोलीहरूको मुख्य सम्पर्क व्यापारी, ठेकेदार तथा सीमाक्षेत्रका कारोबारीहरूसँग हुने गरेको छ। उनीहरू नियमित प्रहरी कार्यालयभन्दा बाहिर बढी सक्रिय रहने गरेको आरोप पनि लगाइएको छ।यद्यपि यी आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

प्रहरी कार्यालयको मुद्दा शाखामाथि समेत सेवाग्राहीबाट आर्थिक चलखेल हुने गरेको गुनासो आउने गरेको छ । केही सेवाग्राहीहरूले आर्थिक प्रभावबिना काम नहुने अवस्था रहेको आरोप लगाएका छन्।

सीमाक्षेत्रका व्यापारी तथा स्थानीय स्रोतहरूबीच अहिले एउटा प्रश्न निकै चर्चामा छ । यदि यति ठूलो परिमाणमा तस्करी भइरहेको छ भने यसको जिम्मेवारी कसले लिने ?

तस्करी, अवैध असुली र आर्थिक चलखेलका आरोपहरू बारम्बार उठिरहँदा प्रदेश प्रहरी कार्यालय तथा प्रहरी मुख्यालयबाट किन प्रभावकारी छानबिन हुन सकेको छैन भन्ने प्रश्न उठ्न थालेको छ

कतिपयले तस्करीको जालो स्थानीय तहमा मात्र सीमित नरही माथिल्लो संरचनासम्म पुगेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि यसको पुष्टि गर्ने आधिकारिक प्रमाण सार्वजनिक भएको छैन।

खुला सीमाको फाइदा उठाउँदै संगठित रूपमा भइरहेको भनिएको तस्करी नियन्त्रण गर्न नसकिए राज्यको राजस्व, सुरक्षा प्रणाली र कानुनी शासनमाथि नै गम्भीर चुनौती थपिने निश्चित छ।

अहिले देशभरमा उठिरहेको सबैभन्दा ठूलो प्रश्न यही हो—सीमामा तस्कर बलिया हुन् कि राज्यका संयन्त्र ? लुम्बिनी प्रहरीका विभिन्न जिल्लास्थित एसपीका घुमुवा र मुद्दामा खुलेयाम असुली धन्दा हुँदा लुम्बिनीका डिआइजी भुपेन्द्र बहादुर खत्रीले नियन्त्रण तर्फ कुनै चासो देखाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech