नेपालगन्ज : सरकारले निकै महत्व दिँदै बजेट छुट्याउने राष्ट्रिय गौरवकाे सिक्टा सिंचाइ आयाेजनाकाे हालत निकै नाजुक देखिएकाे छ । उच्च प्राथमिकता सहित बजेट छुट्याए पनि आयोजनाको प्रगति भने कछुवा गतिमा हुने गरेकाे छ ।
आर्थिक वर्ष २०८०/८१ का लागि छुट्याएको बजेटमा शतप्रतिशतको हाराहारीमा खर्च हुँदा पनि त्यसको भौतिक प्रगति भने सन्तोषजनक देखिँदैन ।
काम निकै सुस्त हुँदा वर्षेनी लागत बढ्दै गएको छ । आयोजनामा प्रत्येक वर्ष बजेट खर्च हुने र प्रगति भने धिमा हुने गरेको छ ।
सरकारले जुन अपेक्षाले आयोजनामा खर्च गर्ने गर्छ, त्यो अनुसारको काम भएको पाइँदैन । मागअनुसारको बजेट दिएपनि अपेक्षित काम नहुँदा पाँच–दश वर्षमा सक्ने लक्ष्य राख्दै थालिएका आयोजना वर्षौ लाग्ने गरेका छन् । कछुवाको गतिमा अघि बढ्दा लागत बढ्ने राज्यमाथि व्ययभार थपिएको थपियै छ ।
सिक्टा सिँचाइ आयोजना २०६२/६३ सालमा सुरु भएको आयोजना हो । बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलव्ध गराउने उद्देश्यले सुरु गरिएको आयोजना हो ।
झण्डै १९ वर्षमा आयोजनाले ४१ प्रतिशत भौतिक प्रगति गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत तथ्यांकअनुसार सरकारले छुट्याएको ८८ करोड २१ लाख बजेटमा ८७ करोड ६४ लाख रकम खर्च गरेको छ । तर, आयाेजना कहिले सकिने एकिन छैन ।






