ट्रेण्डिङ

नेपालगन्ज : सरकारी कार्यालयकाे सुधारात्मक सरकारी अभियानमा सहयाेग गर्न  बाँके अदालतले  परिचयपत्र अनिवार्य सहित नाै बुँदे मापदण्ड ताेकेकाे छ ।

जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्दै सुरक्षा, मर्यादा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नयाँ नियम लागू गरेको हाे ।

अदालत प्रशासनले जारी गरेको सूचनाअनुसार आगामी जेठ २५ गतेदेखि अदालत प्रवेश गर्ने सबै सरोकारवालाले अनिवार्य रूपमा ९ बुँदे निर्देशन पालना गर्नुपर्नेछ।

अदालत परिसरमा सम्भावित असुरक्षा र अव्यवस्था रोक्न यो निर्णय गरिएको जनाइएको छ।

नयाँ व्यवस्थाअनुसार कानुन व्यवसायीहरूले कानुन व्यवसायी पेसागत आचरणसम्बन्धी नियमावली, २०७९ अनुसार तोकिएको पोसाक अनिवार्य रूपमा लगाएर मात्र अदालत प्रवेश गर्न पाउनेछन्।

लेखापढी व्यवसायीहरूले पनि संशोधित नियमावली अनुसार परिचयपत्र र तोकिएको पोसाक अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।

सेवाग्राहीले फिराद पत्र, प्रतिउत्तर पत्र वा अन्य निवेदन दर्ता गर्न आउँदा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, साक्षी बकपत्रका लागि आउने दुवै पक्षका साक्षीहरूले आफ्नो साक्षी निवेदन पत्र र तारिखमा रहेका पक्ष वा वारिसहरूले तारिख पर्चासहित परिचयपत्र देखाएर मात्र अदालतभित्र प्रवेश पाउनेछन्।

अदालतले ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिका लागि मानवीय आधारमा एक जना सहयोगी साथमा ल्याउन अनुमति दिने सहुलियत भने दिएको छ।

यसैगरी, अदालत परिसरको स्वच्छता र मर्यादा कायम राख्न पान, गुटखा लगायतका पदार्थ सेवन तथा साथमा ल्याउन पूर्ण रूपमा निषेध गरिएको छ।

निर्दिष्ट वर्ग र प्रयोजन बाहेकका अन्य व्यक्तिलाई अदालत प्रशासनको अनुमति बिना प्रवेश नदिइने तथा मुख्य ढोकामा सुरक्षा जाँच कडाइका साथ गरिने अदालत श्रोत  बताउँछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय