ट्रेण्डिङ

नेपालगन्ज : बाँके जिल्लाको नरैनापुर गाउँपालिका–५, झन्डवहा स्थित प्रसिद्ध धार्मिक स्थल सन्तानेश्वर मन्दिर जाने मुख्य सडक बर्सातका कारण अत्यन्त जीर्ण बनेपछि साउन महिनामा दर्शन गर्न आउने हजारौं भक्तजनलाई आवतजावतमा ठूलो समस्या परेको छ।

लगातारको वर्षाले सडकमा हिलो, खाल्डाखुल्डी र पानी जम्ने समस्या बढेकाले पैदल यात्रु, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई मन्दिरसम्म पुग्न निकै कठिन भएको स्थानीयवासीले बताएका छन्। विशेषगरी साउन महिनामा भगवान शिवको दर्शनका लागि ठूलो संख्यामा भक्तजन आउने भएकाले सडकको दयनीय अवस्थाले धार्मिक पर्यटनसमेत प्रभावित हुने देखिएको छ।

स्थानीयवासी तथा मन्दिर व्यवस्थापन पक्षले सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न नरैनापुर गाउँपालिका, बाँके जिल्ला समन्वय समिति, लुम्बिनी प्रदेश सरकार तथा नेपाल सरकार सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

उनीहरूले भक्तजनको सहज आवागमन, धार्मिक पर्यटनको प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिलाई सहयोग पुग्ने भएकाले सडक मर्मतलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले समन्वय गरी यथाशीघ्र सडक मर्मतको काम अघि बढाए सन्तानेश्वर मन्दिरमा आउने भक्तजनलाई सहज हुने र धार्मिक क्षेत्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने स्थानीयको विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय