नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा रहेका नगर प्रहरी वेकामे देखिएका छन । जुन उद्देश्य अनुसार उपमहानगरपालिकाले नगर प्रहरी भर्ना गरेकाे थियाे साे अनुसार अहिलेपनि नगर प्रहरीबाट काम हुन सकेकाे देखिदैन ।
नेपालगन्ज उपमहानगरपालिकामा अहिले पालिकाले नै राखेका ११ जना र वाहिरबाट ठेक्कामा लिएका ३० जना गरि ४१ जना नगर पुलिस कार्यरत भएको उपमहानगरपालिकाका एक अधिकारी बताउँछन् ।
मेयर, उपमेयर लगायतका जनप्रतिनिधि र कर्मचारी अफिस बाहिर भित्र गर्दा सलुट ठाेक्ने, गेटमा उभिने र अगाडिको सडकका ठेला तथा साना सडक व्यवसायीबाट रकम असुली गर्ने मात्रै यतिबेला नगर प्रहरीकाे डियुटि देखिएकाे छ । उनिहरुलाई उद्देश्य अनुसारकाे काममा लगाउन जनप्रतिनिधि समेत असक्षम छन ।
उपमहानगरपालिकाले गर्ने हरेक कार्यमा अगाडि लाइनमा नगर प्रहरीहरु रहने भनिएकाे छ । सडक अतिक्रमण, जथाभावी फोहोर फाल्नेलाई कारबाहीदेखि नगरपालिकाको नियम विपरित हुने गतिविधिलाई नगर प्रहरीले रोक्ने भनिएको छ । तर याे उनिहरुबाट अहिलेसम्म हुन सकेकाे छैन ।
संविधानको अनुसूची ८ अनुसार सबै स्थानीय तहले नगरको सुव्यवस्थाका लागि एकल अधिकारअन्तर्गत नगर प्रहरी राख्न पाउँछन् । संविधान अनुसार बनेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को २ (क) मा नगरप्रहरी सम्बन्धी प्रावधान छ । ऐनले नगरप्रहरीका १२ वटा काम तोकेको छ । तर नेपालगन्जमा भने भएका आधा दर्जन काम पनि गर्न कसैले चासाे देखाएका छैनन ।
खासगरी बजार, यातायात तथा भौतिक संरचना व्यवस्थित गर्ने उपमहानगरको निर्णय कार्यान्वयन, विपद व्यवस्थापन सार्वजनिक सम्पत्तिको संरक्षण लगायतका काम स्थानीय सरकार सञ्चालन ऐनमा तोकिएका छन् । तर, यहाँ असुली र चाकडी अनि दादागिरी भन्दा अरु नगर पुलिसबाट अपेक्षा गर्न नसकिएको नागरिक बताउँछन् ।






