नेपालगन्ज : एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषका लागि पर्यटक बोक्न किनिदिएका विद्युतीय गाडी ५ वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका छन् ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार १९ सिटका बस र पाँच सिटका भ्यानमा कार्डबाट रकम भुक्तानी गर्ने सुविधा छ । गाडी वातानुकूलित र अपाङ्गतामैत्री छन् । ती बस एक पटक पूरा चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्ने क्षमताका छन् ।
२०७७ सालमा १४ बटा विद्युतीय बस र ५ वटा भ्यान ल्याइएको थियो । ती सवारी साधन विभिन्न कानुनी प्रक्रिया नमिलेको भन्दै थन्क्याएर राखिएको छ ।
एडीबीले विद्युतीय गाडी, चार्जिङ गर्ने स्टेसन र सोलार इनर्जीसमेत उपलब्ध गराउने सम्झौता गरेअनुरूप २०७७ साल मङ्सिरमा गाडी ल्याए पनि विभिन्न कानुनी कारणले सञ्चालन गर्न नसकेको लुम्बिनी विकास कोषका पदाधिकारी बताउँछन् ।
लुम्बिनी विकास कोषमा सूचना अधिकारी डा हरिध्वज राईका अनुसार ती गाडी लुम्बिनी विकास कोषको नाममा ल्याउन झन्डै ३ वर्ष लागेको थियाे ।
ती गाडी सेतो नम्बर प्लेटमा रहेकाले पर्यटक बोक्न अर्को समस्या भएको छ । हरियो नम्बर प्लेट लिनका लागि सङ्घ हुँदै प्रदेशको यातायात तथा सवारी व्यवस्था कार्यालयमा आएर प्रक्रिया रोकिएको देखिएकाे छ ।






