नेपालगन्ज : कृष्ण जन्माष्टमी २०८१ बाँकेसहित देशभर विधिवत् रूपमा मनाइदैछ । साेमबार कृष्ण भगवानकाे आराधना गरिन्छ । जन्माष्टमीलाई देशभर मनाएपनि बिशेषगरी बागमति र कर्णाली प्रदेशमा महत्वका साथ विविध कार्यक्रम सहित मनाईने गरेकाे पाइएकाे जानकारहरु बताउँछन् ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो। कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए। जन्माष्टमीमा दैलेख, सुर्खेत, जुम्ला, भक्तपुर, पाटन, पाल्पा लगायतका शहरमा ठूलो मेला लाग्ने गर्छ ।
यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक सङ्घ/संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ । कृष्ण जन्माष्टमी २०८१ का अवसरमा सेतोखरी मिडिया प्रलि र सिद्धपाइला अनलाइनका तर्फबाट सबैमा शुभकामना । जयहाेस






