नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना १ हजार २ सय शैय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माण हुने भएको छ । तर, ताेकिएकाे समयमा उक्त याेजना पूरा हाेला नहाेला याे भने हेर्न बाँकी छ ।
यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजना अनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ ।
पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ ।
दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपैयाँ लागत अनुमान गरेको छ ।
त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीसँग संयुक्त रूपमा ५ वर्षभित्र काम सक्ने गरी ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौता भएको छ ।






