नेपालगन्ज : एमालेको आन्तरिक राजनीति १४ असारपछि तीव्र रूपमा ध्रुवीकृत बन्दै गएको देखिएको छ । पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत गरेपछि पार्टीभित्रको शक्ति सन्तुलन पुनः तरल बन्न थालेको छ । भण्डारीको सक्रियतासँगै नेताहरूको समूहगत झुकाव स्पष्ट बन्दै गएको छ ।
१४ असारको कार्यक्रममै अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी पक्षधर पदाधिकारीहरू छुट्टाछुट्टै लाइनमा देखिएका छन ।
अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र भण्डारीले दिएका अभिव्यक्तिहरूले पार्टीभित्र दुई धारको स्थिति प्रस्ट पारिदिएको एमाले नेताहरू बताउँछन् । एमाले पदाधिकारी १९ जना छन् ।
तीमध्ये नौं जना भण्डारी समूहमा, सात जना ओली समूहमा खुलेर देखा परेका छन् भने दुई जना अझै खुला रूपमा कुनै धारमा उभिएका छैनन् । सचिव टोपबहादुर रायमाझी भने निलम्बनमा छन् ।
भण्डारी समूहको नेतृत्व अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्हाल्ने संकेत देखिएको छ । पोखरेलले ओली लाइनलाई खुलेरै चुनौती दिइरहेका छन् ।
पार्टी उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भण्डारीसँगै उभिने सम्भावना उच्च देखिन्छ । यी सबै नेता अघिल्लो पार्टी विभाजनताका माधव नेपालसँग जान नचाहे पनि ओली नेतृत्वप्रति सधैं सशंकित देखिएका थिए । उनीहरू पार्टी विधानमा भएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमाबद्धताको पक्षमा छन्, जुन कुरा ओलीका लागि बाधक बन्न सक्छ ।
यही कारण उनीहरूको झुकाव भण्डारीतर्फ हुने आँकलन गरिएको हो । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि भण्डारीनिकट हुने अनुमान छ । उनलाई मन्त्री बनाउँदा पनि भण्डारीको सिफारिस भूमिका रहेको चर्चा पहिले नै चलेको थियो ।
सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र रघुवीर महासेठसमेत भण्डारीसम्बद्ध भएको चर्चा भए पनि कतिपयले प्रष्ट धार भने सार्वजनिक गरेका छैनन् ।
भट्टराई संस्थापन पक्षमै देखिएका छन् भने विष्ट र विश्वकर्मा मौन छन् । महासेठलाई पहिला ओलीनिकट मानिए पनि उनी वामदेव गौतमसँग बढी नजिक रहँदै आएका थिए । गौतम ओली पक्षमा लाग्नु अघि नै महासेठले उनसँग दूरी बनाएको नेताहरू बताउँछन् ।
ओली पक्षमा खुलेर उभिएका नेताहरूमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।
विशेषगरी महासचिव पोखरेलले भण्डारीको राजनीतिक पुनरागमनको खुला आलोचना गर्दै आएका छन् । काठमाडौंमा भण्डारी सक्रिय राजनीतिमा फर्किने घोषणा गरिरहँदा उनी पोखरामा त्यसको विरोध गर्दै थिए ।






