नेपालगन्ज : जेनजी आन्दोलनपछि केही साता स्थिर बनेकाे बाँकेको ट्राफिक चेकजाँच र असुली यतिबेला फेरि तीब्र देखिएको छ ।
ट्राफिक प्रहरीले नेपालगन्ज–कोहलपुर हुँदै महेन्द्र र रत्न राजमार्ग, खजरा सडकखण्डमा पैसा असुली गर्ने क्रियाकलापले गर्दा हैरानी खेप्नु परेको चालकहरु बताउँछन् । नेपालगन्जमा समेत ट्राफिक प्रहरीको प्रभावकारी काम नहुँदा पनि ट्राफिक व्यवस्थापनसमेत भद्रगोल हुने गरेको छ ।
स्थानीयहरुका अनुसार ट्राफिक व्यवस्थापनमा भन्दा पैसा असुलीमा ट्राफिकको ध्यान फेरि जान थालेको छ । अनेक बहानामा दुःख दिएर सय रुपैयाँदेखि माथिसम्म पैसा झार्न ट्राफिक लागेका छन ।
धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको सवारी चालकहरुको भनाइ छ । ‘जरिवाना धेरै काट्न थाल्छ,’ नाम नबताउने सर्तमा एकजना चालकले भने, ‘हामी पनि धेरै पैसा तिर्नुभन्दा रसिद नलिएरै थोरै पैसा ट्राफिकलाई दिन्छौं ।’ पैसा दिँदा ट्राफिकको झन्झटमा मुक्त हुने उनको भनाइ छ ।
नेपालगन्जबाट सुर्खेतसम्म पुग्दा ट्राफिकलाई पैसा बाँढ्दाबाँढ्दा एक हजारसम्म रुपैयाँ खर्च हुने उनी बताउँछन् । ट्राफिक प्रहरीलाई पैसा दिएको यथार्थ प्रमाण भने चालकहरुले उपलब्ध गराउन सक्दैनन् ।
सय, दुई सय तीन सय माग्छन् ।’ स्रोतका अनुसार चालकले आफ्नो बिलबुकमा हालेर ट्राफिकलाई पैसा दिने गरेका छन् । तपाईं यदी गाडीमा सवार गर्नू भएको छ भने एउटा दृष्य देख्नु भएको होला ।
त्यो दृष्य हो, ‘चालकबाट बिलबुक, लाइसेन्स मागेर ट्राफिक गाडीको ठीक पछाडि आउँछ ।’ जहाँ यात्रुले नदेखोस् भनेर । त्यहाँ उनीहरुले बिलबुकबाट पैसा लिन्छन् ।
चालकहरूका अनुसार बाँकेका विभिन्न ठाउँबाट ग्राफमा उल्लेख भए अनुसारकाे रकम असुली हुने गरेकाे छ । तर, याे कुुरा बाँके ट्राफिकका हाकिम स्वीकार्न तयार हुँदैनन् । शहरमा ट्राफिक व्यवस्थापन कमजाेर र अस्तव्यस्त देखिन्छ ।
कहिलेकाही सडकमा चेकजाँच गरेकाे भनिएपनि उक्त चेकजाँच असुलीमा सिमीत भएको जनगुनासाे छ । बाँके आउने हरेक ट्राफिक हाकिमकाे उद्देश्य असुली नै हुने गरेकाे यसअघिका ट्राफिक हर्कतले समेत पुष्टि गरिसकेका छन ।






