कमल न्याैपाने : जङ्गबहादुरले गरेका काममध्ये अङ्ग्रेजलाई रिझाएर बाँके, बर्दिया लगायत चार जिल्लालाई नेपालमा फिर्ता ल्याउनुलाई स्मरणीय र महत्त्वपूर्णका साथ हेरिने गरिएको छ । जसका कारण आज हामी नयाँ मुलुक अर्थात् नेपालका नागरिक भएका छाै ।
अङ्ग्रेजसँगको युद्धमा गुमाएको भूभागमध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको भूभाग जसमा वर्तमानको तराईमा पर्ने बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा गाभ्न सफल भएका थिए।
वर्तमान समयमा यस भूभागलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ। नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने व्यक्ति यिनै हुन्।
बेलायती शासकहरूका प्रिय रहेका जङ्गबहादुरले आफ्नो शासनकालको समयमा दरबारिया कट्टर विरोधीहरूलाई तह लगाएर एकतन्त्री शासन चलाएका थिए। बेलायत र फ्रान्सको भ्रमणबाट फर्केपछि उनले नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभावको छाप छोडेका थिए ।
बाँके, बर्दिया, कैलाली र कन्चनपुर जंगबहादुर राणाले इष्टइण्डिया कम्पनीलाइ रिजाएर फिर्ता गरेको मुलुक हुन । धन्य श्री ३ महाराज ! गुमेको मुलुकलाई जसरी भएपनि फिर्ता गरेकोमा । तर, जङगबहादुरकाे यस्ताे कामकाे यी जिल्लामा कुनै पहिचान भेटिदैन । यतिसम्म कि यहाँका दलिय शासकले उनकाे पहिचानका लागि एउटा स्मारक समेत स्थापनामा चासाे देखाएका छैन ।
वास्तवमा बाँके, बर्दियामा त उनका नाममा सडक, पाटिपाैवा, चाैकचाैराह लगायतका पुर्वाधार बनाई अासपासमा उनकाे स्मारक राखिनुपर्ने हाे । यहाँ विभिन्न वहानामा विभित्र व्यक्तिका सालिक बनायर चाेक, सडक नामाकरण गरिएको छ तर, बाँके, बर्दियालाई नेपाल बनाउने नायक सधैं अपहेलित बनिरहेका छन । यसतर्फ कसकाे, कहिले ध्यान जाने ?
पुरानै मुलुकलाई नयाँ मुलुक नाम राख्ने पुर्खा कस्ता थिए कुन्नि ? जे होस्, कक्षा नौ मा इतिहास पढाउँदा सरले नयाँ मुलुकको बारेमा कुरा गर्दा मेरो मष्तिष्कमा नयाँ मुलुकको छुट्टै चित्र कोरिएको थियो । लाग्थ्यो मेरो नयाँ मुलुक मैले भोगको मेरो गाउँ ठाउँ भन्दा नितान्त सफा र फरक छ । ज्यादै नयाँ र सुकिलो पनि छ । म नयाँ मुलुकको दर्शन गर्नमा निक्कै लालायित भएको थिएँ ।
नयाँ मुलुककाे दर्शन पनि पाए ठिकै लाग्याे तर, मुलुक बनाउने ती नायकप्रतिकाे अपमानले कहिलेकाही मन दुखेर आउने गर्छ । आखिर यस्ता महा नायककाे पहिचानमा नेपालगन्जमै भए पनि कहिकतै स्मारक बनाई सम्मान र पहिचान दिए के फरक पर्ने थियाे र ? यश वारे कसले साेच्ने ?
नयाँ मुलुकमा यस्ता नायककाे पहिचान चाहिन्छ यसलाई बचाउनु पर्छ, यसकाे अपहेलना गरिनु हुदैन । यसैले धेरै नसकेपनि ती नायक जङ्गबहादुरकाे मुलुकमा उनकै पहिचान जाेगाउन कसरत गराै ।






